धरान: धरानमा स्वाब संकलन गरिएका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये एक जना धरान १९ की ३३ बर्षीय महिला हुन् भने अर्का इटहरी ८ ठेगाना लेखिएको ३० बर्षका पुरुष छन् । संक्रमित महिलासँग सम्पर्क भइसकेको छ भने इटहरीका व्यक्तिसँग यो समाचार तयार पारुञ्जेल सम्पर्क हुन नसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानकी संक्रमित महिलाको श्रीमान् भारतीय आर्मी हुन् । श्रीमान् पनि कोरोना पोजेटिभ भएको हुनाले कन्ट्याक ट्रेसिङको आधारमा श्रीमतिसहित परिवारका अन्य सदस्यहरुको पनि पिसिआर गरिएको थियो । तर, श्रीमतिको मात्र पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
ती इण्डिन आर्मी शुरुमा रिपोर्ट नेगेटिभ भएर एन्फा क्वारेन्टिनबाट घर गएका थिए । तर, उनीसँगैका अन्यको रिपोर्ट पोजेटिभ आएको र पछि उनलाई ज्वरो पनि आएपछि फेरि स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि, कन्ट्याक ट्रेसिङको आधारमा उनको पत्नीसहित परिवारको साउन २५ गते स्वाब परीक्षण गरिएको थियो ।
यस्तै, इटहरी ठेगाना भएका व्यक्ति को हुन्, र उनको कसरी धरानमा स्वाब संकलन गरियो भन्ने खुलेको छैन । ती व्यक्तिले टिपाएको मोवाइल नम्बर पनि स्वीच अफ भएको मेहताले जानकारी दिए । ‘इटहरी ठेगाना लेखिएको छ, धरानमा काम गर्ने हो कि ? कसरी यहाँ स्वाब दियो, को हुन् भनेर खोजी गर्दैछौं,’मेहताले भने ।