धरान: अवैध सखुवाको रुख काटिएको घटनामा धरान २० स्थित भालढुंगा सामुदायिक वन समुहका कोषाध्यक्ष पक्राउ परेका छन् ।
वन समुहका कोषाध्यक्ष भीम बस्नेतलाई सब डिभिजन वन कार्यालय धरानले आज पक्राउ गरेको हो । सब डिभिजन प्रमुख एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले कोषाध्यक्ष बस्नेतलाई पक्राउ गरिएको बताए । धेरै ठाउँबाट उजुरी परेको र यसअघि रुख काट्न गएका भनिएका श्रमिकहरुको वयानबाट पनि उनको संलग्नता देखिएकोले पक्राउ गरिएको अधिकृत यादवले बताए । ‘पत्र काटेर बोलाइएको थियो, कार्यालय आएपछि पक्राउ गरिएको छ,’यादवले भने,‘उहाँको बारेमा धेरैतिरबाट उजुरी पर्यो, ४ जना कामदारको वयानबाट पनि उहाँको संलग्नता छ भन्ने खुलेको छ ।’
अधिकृत यादवका अनुसार कोषाध्यक्ष बस्नेतको प्रारम्भिक वयान लिइएको छ । तर, वयानमा कोषाध्यक्ष बस्नेतले के भने भन्नेबारे उनले खुलाएन चाहेनन् । ‘वयान भइसक्यो, केही कुरा अझै पुष्टि हुन बाँकी नै छ,’अधिकृत यादवले भने,‘उहाँलाई छोडिदैन, कानुन अनुसार प्रक्रिया अघि बढ्छ ।’ कोषाध्यक्ष बस्नेतले भने रुख काटिएको घटनामा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिदै आएका छन् ।
भालढुंगा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटिएको थियो । उक्त रुख धरानका मेयर तिलक राईको निर्देशनमा कोषाध्यक्ष बस्नेतको संलग्नतामा काटिएको भन्दै वन समुहका अध्यक्ष बुद्धिमान तामाङले वन कार्यालयमा उजुरी दिएका थिए । मेयर राईले भालढुंगामा घर बनाउन काठ माग गरेको उनको दाबी छ । उनकै दोस्रो उजुरीको आधारमा रुख काट्न गएका धरान ८ र १९ का ४ जना कामदारहरु पक्राउ परेका थिए । उनीहरुले भने कोषाध्यक्ष बस्नेतले बोलाएर रुख काट्न गएको वयान दिएका थिए ।
वन समुहको ९ जना कार्यसमितिको बैठकमा भने ८ जनाले रुख कस्को निर्देशनमा, कस्ले काटेको भन्ने थाह नभएको लिखित जवाफ वनलाई पठाएका थिए भने अध्यक्ष तामाङले मात्र मेयर राईको निर्देशनमा काटिएको लिखित जवाफ वनलाई पठाएका थिए । मेयर राईले पनि आफुलाई राजनैतिक पुर्वाग्रहले नियोजितरुपमा फसाउने खेल भएको बताउदै आएका छन् ।