धरान: प्रमुखसहित झण्डै दर्जन कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि बन्द भएको नेपाल टेलिकमको धरान १ स्थित शाखा कार्यालय आजदेखि सञ्चालन आएको छ ।

टेलिकमको दुवै भवनलाई सेनिटाइज गरेर सेवा प्रवाह गरिएको टेक्निकल अफिसर प्रज्वल श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमित कर्मचारीहरु आइसोलेसनमा छन् । अन्य कर्मचारीहरुबाट आजदेखि सेवा प्रवाह गरिएको उनले बताए । ‘स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह शुरु गरेका छौं । भवनलाई पनि सेनिटाइज गरिसकेका छौं,’उनले भने ।

नेपाल टेलिकमको धरान शाखा कार्यालय प्रमुखसहित ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुरुमा एक जना कर्मचालाई संक्रमण देखिएको थियो । त्यसपछि कन्ट्याक ट्रेसिंगको आधारमा स्वाब संकलन गर्दा हालसम्म ११ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि, टेलिकम कार्यालय बन्द भएको थियो ।

१६ नं वडा कार्यालय २ घण्टा खुल्ने

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको धरानको वडा नं १६ कार्यालय पनि आज २ घण्टा खुलेको छ ।

सेवाग्राहीहरुको कामहरु धेरै रोकिएको र जनगुनासो पनि आउन थालेपछि आज २ घण्टाको लागि कार्यालय खुला गरिएको वडा सदस्य दिपक आचार्यले जानकारी दिए । ‘कामहरु धेरै रोकिएर गुनासोहरु आयो, त्यसैले बिहान १० बजेदेखि १२ बजेसम्म आजमात्र खोलेका छौं,’सदस्य आचार्यले भने,‘फेरि ४, ५ दिन बन्द गरेर यसरी नै आंशिकरुपमा सेवा दिन्छौं ।’