धरान: जन प्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण देखिए पछि धरानको वडा नं ३ र ८ को कार्यालय पनि बन्द गरिएको छ ।
दुवै कार्यालय आजदेखि बन्द भएको हो । कार्यालय बन्द रहने र अत्यन्तै जरुरी काम भए मात्र सेवा प्रवाह गरिनेछ । वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठका अनुसार आज(आइतबार)देखि एक साताको लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको बताए । वडा ३ का २ जना वडा सदस्यलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ जना कर्मचारीलाई पनि संक्रमण देखिएको छ । ‘जनप्रतिनिधि र कर्मचारीलाई संक्रमण भएकोले एक साताको लागि कार्यालय बन्द गरिएको छ,’अध्यक्ष श्रेष्ठले भने ।
वडा ८ मा अत्यावश्यक सेवा मात्र दिइने
ईञ्जिनियरलाई कोरोना संक्रमण पुष्टि भएपछि धरानको वडा नं ८ को कार्यालय पनि आजदेखि बन्द गरिएको छ । वडा कार्यालयले आज(आइतबार) दिउँसो १ बजेदेखि अर्को सुचना जारी नभएसम्म अत्यावश्यक सेवाबाहेकका अन्य सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
वडा कार्यालयका एक ईञ्जिनियरलाई संक्रमण भएको थियो । यस्तै, वडा कार्यालयको सटर भाडामा लिएर क्यान्टिन चलाउने महिलाको श्रीमान्लाई पनि ज्वरो आएकोले कोरोना आशंका गरिएको कारण यस्तो निर्णय गरिएको वडा सदस्य राम मगरले जानकारी दिए । लक्षण देखिएका व्यक्ति शिक्षक पनि हुन् ।
वडा कार्यालयका कर्मचारीहरु सँगै खाजा खाने गरेको कारण संक्रमणको जोखिम रहेको पनि वडा सदस्य मगरको भनाई छ । खाजा सोही क्यान्टिनमा खाने गरेका थिए । ‘खाजा सँगै बसेर खाने गरेका छन्, त्यही क्यान्टिनमा खाजा खाने हो । त्यसैले अरुलाई पनि संक्रमणको जोखिम भएकोले यो निर्णय गरिएको हो,’उनले भने,उनले भने,'अत्यन्तै जरुरी काम भएमा सेवा प्रवाह गरिनेछ।'