धरान: वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेशी भवनसँगै क्यान्सर (अंकोलोजी) र जलन (बर्न) युनिट पनि उद्घाटन भएको छ ।
प्रतिष्ठानका सहकुलपतिसमेत रहेका संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक समारोहबीच बिहिबार फार्मेशी भवनसँगै क्यान्सर र जलन युनिटको उद्घाटन गरेका हुन् । प्रतिष्ठानको लगानीमा निर्मित उक्त भवनको भुईतल्लामा फार्मेसी सेवा सञ्चालनमा छ भने पहिलो तल्लामा क्यान्सर युनिट र दोस्रो तल्लामा जलन युनिट रहेको छ । उद्घाटनसँगै मन्त्री पौडेलले औषधी बिक्री कक्ष, क्यान्सर र जलन युनिटको स्थलगत अवलोकन पनि गरेका थिए ।
भवनको पहिलो तल्लामा क्यान्सरका विरामीहरुको उपचारका लागि २० शैय्याको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको प्रतिष्ठान उकुलपति डा.ज्ञानेन्द्र गिरीले जानकारी दिए । विगत केही बर्षदेखि प्रतिष्ठानको मेडिसिन वार्डमा राखेर क्यान्सर रोगीहरुका उपचार हुदै आइरहेको थियो । उक्त सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइने पनि उनले बताए ।
यस्तै, दोस्रो तल्लामा विभिन्न कारणले जलेर आएका विरामीहरुको उपचारका लागि बर्न वार्ड सञ्चालनमा ल्याइएको उनले बताए । विगतमा जलेर आएका विरामीहरुलाई प्रतिष्ठानले जेनेरल सर्जरी विभाग अन्तर्गत बहिरंग तथा अन्तरंग सेवा प्रदान गर्दै आएको थियो । यो सेवालाई पनि अझ प्रभावकारी बनाउन छुट्टै वार्ड सञ्चालनमा ल्याउनले डा.गिरीले बताए ।
नेपाल सरकारले देशको सातै वटा प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्ने नीति अनुरुप प्रतिष्ठानमा यो सेवा सुचारु भएको प्रवक्ता प्रा.डा.अञ्जु प्रधानले बताइन् । उनका अनुसार सरकारको निर्देशन बमोजिम २५ शैंय्याको वर्न वार्ड सञ्चालनमा ल्याइए पछि नेपालकै सबैभन्दा ठूलो वर्न वार्ड हुनेछ ।