धरान: नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सरकारी अस्पतालमा सञ्चालनमा रहेको फार्मेशीमा कुनै प्रकारको औषधी छैन भन्न नपाइने बताएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेशी भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले फार्मेशीमा सबै प्रकारका औषधी उपलब्ध गराउन आग्रह गर्दै औषधी छैन भन्नु गैरकानुनी हुने पनि बताए । ‘म अनुरोध गर्न चाहन्छु, यो पनि सरकारी प्रतिष्ठान हो, अब फार्मेसीमा कुनै पनि प्रकारको औषधी छैन भन्न पाइन्न, त्यो गैरकानुनी हुनेछ,’ प्रतिष्ठानका सहकुलपतिसमेत रहेका पौडेलले भने,‘आवश्यकता अनुसार अस्पतालका फार्मेसीहरुले औषधी उपलब्ध गराउने गरि व्यवस्था गर्नुपर्छ । अस्पतालले आम्दानी हुने गरि फार्मेसी व्यवस्थति गर्ने, आम नागरिकलाई सस्तो, सर्वसुलभ औषधी उपलब्ध गराउने गरि सञ्चाअलन गर्नुपर्छ ।’

मन्त्री पौडेलले फार्मेसीमा कति प्रकारको औषधी राखिएको छ भनेर सुचीसहित बोर्ड बाहिर टास्न पनि अनुरोध गरे । साथै औषधीको मुल्य पनि सँगै राख्न मन्त्रालयले भनिसकेको उनको भनाई थियो । ‘फार्मेसीले विरामीलाई सेवा उपलब्ध गराउनुका साथै अस्पताललाई आम्दानी पनि दिन्छ । तर विडम्बना के छ भने विक्री गरेर नाफा कमाउन सकिन्छ तर बिक्री गर्न औषधी राखिदैन, औषधी छैन भनिन्छ, औषधी थोरै राख्न रुचाइन्छ, यसको कारण के हो ?’

सरकारले नसके प्राइभेटबाटै भएपनि एमआरआइ सेवा

bp farmacy

मन्त्री पौडेलले वीपी प्रतिष्ठानमा एमआरभई सेवा उपलब्ध नहुनु स्वाभाविक नभएको टिप्पणी गरे । यो सेवा उपलब्ध गराउन विभिन्न दाताहरुसँग अनुरोध गरेको खुलाउदै मन्त्री पौडेलले दाताबाट उपलब्ध नभए सरकारले नै एमआरआई उपलब्ध गराएर छिटो सेवा सञ्चालन गर्न जरुरी भएको पनि बताए । 

मन्त्री पौडेलका अनुसार एमआरआई सेवा नभएको उपचार पुर्ण हुनसक्दैन । ‘सबै कुरा यही हुने, तर एमआरआई गर्न बाहिर जानुपरे पछि ७० प्रतिशत मात्र उपचार सेवा भएको मानिन्छ,’ उनले भने,‘यति ठुलो संस्थामा एमआरआई नहुने कुरा स्वभाविक हुनसक्दैन ।’

लामो समयसम्म एमआरआई ल्याउन नसकिए निश्चित दरमा प्राइभेटमा गर्ने गरि पनि व्यवस्था गर्नुपर्ने मन्त्री पौडेलले बताए । ‘जसले गर्दा सेवाग्राही धेरै मारमा नपर्ने व्यवस्था गर्नुपर्छ,’उनले भने,‘सरकारको लगानी भएको सामाुदायिक स्वास्थ्य संस्थाले नसक्ने जनतालाई निःशुल्क, सक्नेलाई पनि सर्वसुलभढंगबाट उपचार उपलब्ध गराउन सक्नुपर्छ ।’

सातै प्रदेशमा क्यान्सर उपचार सेवा, वीपीमा २५ बेडको बर्न वार्ड

farmacy3

मन्त्री पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने सरकारको प्रतिवद्धता कार्यान्वयनमा आएको बताए । विगतमा किमोथेरापी गर्न क्यान्सरका विरामी चितवन वा काठमाण्डौं जानै पर्ने बाध्यताको अन्त्य हुने भन्दै उनले खुशी व्यक्त गरे । ‘हामीले धनगढीको गेटामा पनि क्यान्सर सेवा सुरु गर्न खोज्दैछौं, भेरीमा शुरु भइसकेको छ, सुर्खेतमा शुरु भइसकेको छ, यहाँ आज झन् व्यवस्थित ढंगले प्रभावकारीरुपमा सेवा शुरुवात गरिएको छ,’ मन्त्री पौडेलले भने, ‘७ वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यान्वयनमा आएको छ ।’ 

मन्त्री पौडेलले बर्न (जलन)को उपचार नेपालका ८ वटा अस्पतालहरुमा विपन्नलाई निःशुल्क दिने निर्णय गरेर लागु गरिसकेको पनि जानकारी दिए । काठमाण्डौंको किर्तिपुर, वीर हस्पिटलसँगै धरानको वीपीमा पनि लागु भएको उनले बताए ‘यहाँ २५ बेडको यहाँको सबैभन्दा ठुलो बर्न युनिट हो । वार्ड व्यवस्थितरुपमा संञ्चालन भएपछि आमजनता लाभान्वित हुनेछन् ।’ मन्त्री पौडेलले एमसिएच भवनको समस्या बुझेर तुरुन्त सञ्चालनमा ल्याउन छलफल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । 


भिडियो:

भिडियो: