धरान: तामाङ जातिको नयाँ बर्ष (सोनाम ल्होछार) को अवसरमा धरानमा १५ दिनसम्म विविध कार्यक्रमहरु हुने भएको छ ।

नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले शनिबार पत्रकार सम्मेलन गर्दे सोनाम ल्होछार पर्व माघ १७ गतेदेखि १५ दिनसम्म विविध कार्यक्रम गरि मनाउने जानकारी दिएको हो । नेपाल सरकारले २०६१ सालदेखि माघ शुक्ल प्रतिपदा तिथीमा मनाइने सोनाम ल्होछारलाई राष्ट्रिय पर्वकोरुपमा घोषणा गरेको थियो ।

घेदुङका सचिव ललितबहादुर तामाङका अनुसार माघ १७ गते एक दिन भानुचोकमा भव्यरुपमा र्याली, झाँकीसहित भव्यरुपमा ल्होछार मनाइनेछ भने १५ दिनसम्म विभिन्न वडाहरुमा शुभकामना आदानप्रदान गरि मनाइनेछ । विगतमा ल्होछारको अवसरमा साँस्कृतिक महोत्सव मनाउदै आएको थियो । तर, यो बर्ष धरान डे लगत्तै सुनसरी उद्योग वाणिज्य संघले एक्स्पो आयोजना गरेकोले ल्होछारको अवसरमा साँस्कृतिक महोत्सव गर्न नपाएको उपाध्यक्ष सम्फर तामाङले गुनासो गरे । 

घेदुङका अध्यक्ष सपन कुमार योञ्जन तामाङले पहिलो दिन र्यालीमा जातीय सँस्कृति झल्काउने गरि सहभागीता हुने बताए । साथै, भानुचोकमा हुने कार्यक्रममा २० वटै वडाको तामाङ सेलो नृत्य प्रस्तुतीको प्रतिस्पर्धा पनि हुने उनले बताए । नेपालसहित भारत, चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्याण्ड, भुटानलगायत देशहरुमा पनि माघ शुक्ल प्रतिपदाको तिथीमा नै सोनाम ल्होछार धुमधामले मनाउने गरिन्छ । त्यसैले ल्होछार पर्व अन्तरराष्ट्रिय पर्वकोरुपमा पनि चिनिने पनि घेदुङले जनाएको छ ।