धरान: मुन्धुमी आस्थाको केन्द्र मुक्कुम्लुङमा बन्न लागेको केवलकारको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले गोली प्रहार गरेर घाइते बनाएपछि आन्दोलन झन् चर्कने भएको छ ।

राज्यले दमनको नीति लिएर निहत्थामाथि गोली चलाएको विरोधमा आन्दोलनरत पक्षले मंगलबार (माघ १५) देखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ । शनिबार साँझ सशस्त्र प्रहरीहरुले मुक्कुम्लुङ संरक्षणकारीहरुमाथि गोली चलाएको थियो । उक्त घटनामा गम्भीर घाइते ४ जना मध्ये ३ जनालाई आइतबार विराटनगर हुदै नेपाली सेनाको हेलिमार्फत काठमाण्डौं पुर्याएर उपचार भइरहेको छ । 

आन्दोलनरत पक्षले मंगलबारदेखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरेको छ । यस्तै, केवलकार बनाउने, नीतिगत भ्रष्टचार गरि अकुत सम्पत्ति कमाउने चन्द्र ढकालको ग्लोबल आइएमइ बैंकमा रहेको खाताहरु बन्द गर्न पनि आन्दोलनरत पक्षले विज्ञप्ती जारी गर्दै आह्वानसमेत गरेको छ ।

यसैगरि, सोमबारदेखि ग्लोबल आइएमई बैंकका सबै शाखाहरुमा दिउँसो १ बजे शान्तिपुर्ण धर्ना बस्ने र प्रदेशका विभिन्न जिल्लामा उक्त बैंकको शाखा बन्द गर्नुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ । केवलकार बनाउन खोज्ने व्यापारी चन्द्र ढकाल र उनका कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्लामा निषेध गर्ने घोषणा गरिएको छ भने मेयर अमिर मादेनलाई वंशगद्दार घोषणा गर्दै ताप्लेजुङ बाहिर निषेध गर्नेलगायत कार्यक्रमहरु सार्वजनिक गरेको छ । 

आन्दोलनरत पक्षले केवलकार निर्माण खारेज गर्नुपर्ने, सैन्यकरण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा लिएका योद्दाहरुको विनासर्त रिहा र झुटा मुद्दाहरु लगाउन बन्द गर्नुपर्ने माग पनि राखेको छ । 

पवित्र मुन्धुमीस्थलमा व्यापारी पोस्ने गरि राज्यले केवलकार बनाउने सम्झौता गरेको थियो । यसको चर्को विरोध र आलोचना भइरहेपनि सरकार र ठेकेदर पक्षले सुरक्षाकर्मी परिचालन गरेर निर्माण कार्य शुरु गरेको थियो । सुरक्षाकर्मी र ठेकेदार पक्षले समुह परिचालन गरेर जर्बजस्ती काम गर्न खोजेपनि विरोधका कार्यक्रमहरु पनि जारी छ । मुक्कुम्लुङलाई पाथीभारा देवीकोरुपमा पनि पुजिने गरेको छ । 

mukumlung1

mukumlung3