धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले श्रमअभियानको खर्च हिसाबबारे फेरि मेयर हर्कराज राई (साम्पाङ)सँग पत्रमार्फत सोधपुछ गरेको छ ।

मेयर साम्पाङले अख्तियारलाई पठाएको पत्र फेसबुकमार्फत आफैले सार्वजनिक गरेपछि पुनः दोस्रो पटक पत्रमार्फत सोधपुछ भएको खुलेको हो । आज (शुक्रबार)को मितिमा मेयर साम्पाङले धरान उपमहानगरपालिका र धरान खानेपानी व्यवस्थापन बोर्डको लेटरप्याडमा एकै खालको पत्र अख्तियारलाई पठाएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उक्त पत्रमा ‘२०८१ माघ २ गते अख्तियारबाट सोधपुछ गरिएको बिषयमा उत्तर दिइएको’ उल्लेख गरिएको छ।

यसअघि पनि अख्तियारले २०८१ पुष २१ गते उजुरी परेको उल्लेख गर्दै मेयर साम्पाङलाई पठाएको पत्र पुष २६ गते उपमहानगरपालिकाले पाएको थियो । सोही दिन मेयर साम्पाङले अख्तियारलाई जवाफ पठाएको पत्र पनि फेसबुकमार्फत नै सार्वजनिक गरेका थिए । मेयर साम्पाङको उक्त जवाफ पछि पनि पुनः माघ २ को मितिमा अख्तियारले सोधपुछ गर्दै अर्को पत्र पठाएको हो ।

मेयर साम्पाङले अख्तियारलाई पठाएको पहिलो पटकको पत्र र दोस्रो पटकको पत्रको व्यहोरा हेर्दा भने सोधपुछ फरक बिषयमा भएको अनुमान गर्न सकिन्छ । पहिलो पटक गत पुष २६ गते पठाएको पत्रमा श्रमसँस्कृति पार्क, कोकाह खानेपानी अभियान र सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानको बिषयमा मेयर साम्पाङले खुलाएका थिए । आजको पत्रमा भने मेयर साम्पाङले कोकाह खानेपानी श्रमअभियानको बिषयलाई मात्र उल्लेख गरेका छन् । 

चर्चामा मेयर साम्पाङको पत्र

मेयर साम्पाङले अख्तियारलाई पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि चर्चाको बिषय बनेको छ । मुलधारका अनलाइन मिडियाहरुले पनि मेयर साम्पाङको पत्रमा उल्लेख गरिएको भाषा शैलीमा आधारित भएर प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।

मेयर साम्पाङले अख्तियारलाई पठाएको पत्रले चर्चा पाउनुमा त्यहाँ उल्लेख गरिएको भाषा शैली एवं वाक्यहरुले गर्दा हो । पत्रमा मेयर साम्पाङले ठेट बोलीचालीको भाषाशैलीका शब्दहरु उल्लेख गरेका छन् । 

‘४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाडा, झोर जंगल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउदै..घुमाउदै..घुमाउदै..घुमाउदै..लड्दै र पड्दै..तान्यो..तान्यो..एकछिन है..विस्तारै सुल्काउ है..भन्दै..ओहोइ भनुँ त..भन्दै घरी घरी नाच्दै र गाउदै पनि..बिजोग रमाइलो गरी ल्याउदैछौं है ल्याउदैछौं,’ मेयर साम्पाङले पठाएको पत्रमा भनिएको छ,‘केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर बषौं बिन्ति बिसाउदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगे । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजी खोस्टा होइन, पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नुपरेको हौं..खै कुरा बुझ्या ।’

मेयर साम्पाङले कोकाह खानेपानी श्रमायोजना २ चलिरहेको जानकारी दिदै एक दिन मुहानबाट धरानसम्म हिड्दै हिड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न पनि अख्तियारलाई पत्रमा नै आमन्त्रण पनि गरेका छन् । ‘कम्ता रमाइलो छैन,’ उनले पत्रमा भनेका छन्,‘त्यो वाइयात उजुरी लाउने मान्छेले कतिवटा पाइप किनेर दियो ? कतिदिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ?’

मेयर साम्पाङले राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, एनसेल, वाइडबडी जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्न आग्रह गर्दै पत्रमा भनेका छन्, ‘तिखाएका मानिसहरुको श्राप लाग्ला । पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभुत आवश्यकता हो । पानीमा राजनीति गर्नुहुदैन । पानी माग्न जनता त्यता आउलान् है फेरि ।’

अख्तियारलाई आज पठाएको पत्र


ciaa letter

गत पुुष २६ गते अख्तियारलाई पठाएको पत्र:

ciaa letter 2