धरान: छैटौ मिस्टर कोशी प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत महिनामा हुने भएको छ । 

एलाइनेट जिम धरानको २२ औं प्रस्तुतीकोरुपमा चैत २२ र २३ गते प्रतियोगिता हुने भएको हो । आयोजक एलाइनेटले आइतबार धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । पहिलो दिन प्रि जजिङ र दोस्रो दिन मुख्य स्पर्धा हुने अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिए । 

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समुहका खेलाडीहरु सहभागी हुनेछन् । प्रत्येक तौल समुहमा ६ जना छनौट गरि ३० जना खेलाडीहरुलाई दोस्रो दिन फाइनल राउण्डमा सहभागी गराइने अध्यक्ष लिम्बुले बताए । फाइनल राउण्डमा प्रत्येक तौल समुहबाट प्रथम हुने खेलाडीले मात्र उपाधिको लागि ओभरअल राउण्डमा भिड्न पाउनेछन् । 

ओभरअल राउण्डमा प्रथम हुने खेलाडीले मिस्टर कोशी प्रदेशको उपाधिसँगै नगद १ लाख २५ हजार पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले ५० हजार, तेस्रोले ४० हजार, चौथो हुनेले ३० हजार र पाँचौं स्थानमा हुने खेलाडीले नगद २० हजार पुरस्कार पाउनेछन् । यस्तै, व्यक्तिगत विधातर्फ वेष्ट पोजर, मस्कुलर मेन र मोस्ट इम्प्रुप घोषित खेलाडीले जनही ५ हजार नगद पुरस्कार पाउनेछन् । 

mr koshi1

आयोजकका अनुसार प्रतियोगितामा एउटा क्लबबाट एक तौल समुहमा २ जना खेलाडी र एक टिम मेनेजरले मात्र भाग लिन पाउनेछन् । जसअनुसार एक क्लबबाट पाँच वटा तौल समुह गरि कुल १० जना खेलाडी र एक टिम मेनेजर सहभागी हुन पाउनेछन् । विगतमा कोशी अञ्चलस्तरीय प्रतियोगिता मात्र हुदै आएकोमा यो बर्षभने प्रदेशस्तरीय हुने पनि अध्यक्ष लिम्बुले बताए । 

प्रतियोगिताको लागि कुल ९ लाख ५ हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको लागि धरान उपमहानगरपालिकाबाट २ लाख बजेटविनियोजना गरिएको छ भने कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवबाट पनि बजेट पाउने आश्वासन पाएको अध्यक्ष लिम्बुले बताए । प्रतियोगिताको लागि विभिन्न संघसंस्था, सहभागी दाताहरुबाट नै बजेट जुटाउनुपर्ने बाध्यता भएको पनि उनले बताए । विगत २ वटा सँस्करण निरन्तर घाटा भएको उल्लेख गर्दे अध्यक्ष लिम्बुले यो प्रतियोगिता सकिएको एक महिनाभित्र आयव्यय पनि सार्वजनिक गर्ने प्रतिवद्धता जनाए ।