धरान: धरानका युवा व्यवसायिक गल्फर निरज तामाङले पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता जितेका छन् ।
पार ६९ को हिमालयन गल्फ कोर्ष पोखरामा शनिबार सम्पन्न मुख्य स्पर्धामा कुल १ अण्डर २०६ स्कोर खेल्दै निरज वेष्टर्न च्याम्पियन बनेका हुन् । तेस्रो दिनको खेल ४ ओभर ७३ को कार्ड बनाए पनि जयराम श्रेष्ठलाई ३ स्ट्रोकले पछि पार्दै निरजले उपाधि जिते । उनले च्याम्पियन ट्रफीसँगै नगद १ लाख ५० हजार पनि हात पारे ।
दोस्रो स्थानमा रहेका जयरामले कुल २ ओभर २०९ स्कोर खेले । तेस्रो दिन शुक्रबार इभन पार ६९ कार्ड बनाएका जयराम पाँचौं स्थानबाट उक्लिएर दोस्रो भएका थिए । उनले नगद १ लाख हात पारे । प्रतियोगितामा कुल ३ ओभर २१० स्कोर खेलेका भुवन कुमार रोक्का तेस्रो हुदै नगद ७५ हजार हात पारे ।
वेष्टर्न ओपनका साविक विजेता भुवन नगरकोटी भने कुल ४ ओभर २११ स्कोर खेल्दै चौथो स्थानमा रहेर ६३ हजार नगद पुरस्कार पाए । अन्य चार खेलाडी सञ्जय लामा, धनबहादुर थापा, विष्णुप्रसाद शर्मा र रामे मगरले समान कुल ७ ओभर २१४ स्कोर खेल्दै संयुक्तरुपमा पाँचौ स्थानमा रहे । उनीहरुले जनही ४४ हजार ७५० रुपैया हात पारे । एमेच्योरतर्फ कुल ९ ओभर २१६ स्कोरका साथ सुरेश तामाङ विजेता बने ।
प्रोफेस्नल गल्फर एशोसिएशनको आयोजनामा सम्पन्न प्रतियोगितामा ३४ प्रोफेस्नल र १८ एमेच्योरसहित कुल ५४ जना गल्फ खेलाडी सहभागी भएका थिए । मुख्य स्पर्धा सकिएपनि शनिबार प्रो एम म्याच हुनेछ ।
सन् २०२० मा पो–टर्न भएर व्यवसायिक प्रतियोगिता खेलिरहेका निरज ५ वटा स्पर्धामा विजेता बनेपनि ट्रफी भने तीन वटा मात्र उचालेका छन् । यो सिजनमा भने उनी ३ पटक च्याम्पियन बने । उनले यो सिजनमा काठमाण्डौं ओपन, इष्टर्न ओपन र वेष्टर्न ओपन जितेका छन् । गत बर्ष काठमाण्डौं ओपन र प्रिमियम ओपनमा प्रोफेस्नलतर्फ विजेता भएपनि ट्रफी भने एमेच्योर खेलाडीले उचालेको थियो ।
निरजले यो सिजनमा लगातार तेस्रो ट्रफी जित्दा खुशी भएको प्रतिक्रिया दिए । उनले मोवाइल सम्पर्कमा भने, ‘गेम पनि राम्रो भइरहेको छ, लगातार तेस्रो पटक ट्रफी जित्दा खुशी छु । उनले चाडै काठमाण्डौंमा हुन लागेको सुर्य च्यालेञ्जको तयारीमा जुट्ने पनि बताए ।
*यसअघि शिर्षकमा भुलवश 'लगातार' भन्ने शब्द परेकोमा सच्याइएको छ । सम्पादक